Section 26
धितोको हकको परिपक्वता
(१) कुनै धितोमा धितोको हक आबद्ध भई यस दफाबमोजिमका शर्तहरु पूरा भएमा त्यस्तो धितोको हक परिपक्व भएको मानिनेछ ।
(२) यस दफामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक धितोको हक परिपक्व गराउनको लागि दर्ता कार्यालयमा सूचना दर्ता गराउनु पर्नेछ ।
(३) खरिद मूल्यसम्बन्धी धितोको हक कुनै उपभोग्य वस्तुमा आबद्ध भइसकेपछि मात्र त्यस्तो उपभोग्य वस्तुमा सृजना भएको खरिद मूल्यसम्बन्धी धितोको हक परिपक्व हुनेछ । सो को सूचना दर्ता गराई रहनु पर्ने छैन ।
(४) मालसामान, अधिकारपत्र, लिखत वा सुरक्षित बिक्री करारमाथि रहेको धितोको हक धितो लिने व्यक्तिले त्यस्तो धितो आफ्नो कब्जामा लिएपछि मात्र परिपक्व हुनेछ । यसका लागि दर्ता गराइरहनु पर्नेछैन । त्यस्ता मालसामान, अधिकारपत्र, लिखत वा सुरक्षित बिक्री करार कब्जामा लिएको बखतदेखि नै त्यसमाथि रहेको धितोको हक परिपक्व हुनेछ र सो कब्जा कायम रहेसम्म सो हक कायम रहनेछ । यस उपदफाबमोजिम कब्जामा लिई परिपक्व गराइएको मालसामान, अधिकारपत्र, लिखत वा सुरक्षित बिक्री करारमाथिको धितोको हक धितो लिने व्यक्तिले कब्जाको अवधिभन्दा अगाडि, कब्जाको अविधिभित्र वा कब्जाको अवधि पछि पनि सूचना दर्ता गरेर परिपक्व गराउन सक्नेछ ।
(५) नगद लाभबाहेक धितो लिने व्यक्तिले रकम कब्जामा लिएपछि मात्र त्यस्तो रकममाथि रहेको धितोको हक परिपक्व हुन सक्नेछ ।
(६) क्रमसंख्या अङ्कित सवारी साधनमा रहेको धितोको हक सो सवारी साधनको साधारण विवरण दिएर वा सोको क्रमसंख्या उल्लेख गरी सूचना दर्ता गरेपछि मात्र परिपक्व हुन सक्नेछ ।
(७) लाभमाथि रहेको धितोको हक परिपक्व गराउन सूचना दर्ता गराउन आवश्यक हुने छैन ।
(८) नासोमा लिने व्यक्तिको जिम्मामा मालसामान रहेका बखत निजले सो मालसामानलाई समेट्ने गरी लिखत जारी गरेको रहेछ भने त्यस्तो लिखतउपर धितोको हक परिपक्व गराएपछि मात्र त्यस्तो मालसामानमाथि रहेको धितोको हकलाई परिपक्वता प्रदान गर्न सकिनेछ । नासो लिने व्यक्तिको जिम्मामा मालसामान रहेका बखत सूचना दर्ता गराई त्यस्ता मालसामानमा धितोको हक परिपक्व गराइएको भए त्यस्तो धितोको हक लिखतमा परिपक्व गराएको धितोको हकसँग सम्बन्धित हुनेछ ।
(९) धितोको सम्पत्तिउपर रहेको धितोको हकको परिपक्वताले धितोको सुरक्षार्थ दिएको जमानतउपर रहेको धितोको हकसमेतलाई परिपक्व बनाउनेछ । जमानतउपर रहेको धितोको हक परिपक्व गराउन सूचना दर्ता गराउन आवश्यक हुने छैन ।
(१०) भुक्तानीको अधिकार वा परिपालनउपर रहेको धितोको हकको परिपक्वताले भुक्तानीको अधिकारलाई सुरक्षित गर्ने अचलसम्पत्तिको बन्धकीउपरको धितोको हकलाई समेत परिपक्व बनाउनेछ ।